
दमौलीः नेपाली कांग्रेसले तनहुँका ८५ वटै वडामा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको विरोध कार्यक्रम सफल भएको जनाएको छ । पार्टी सचिव विश्व बाँस्तोलाले जिल्लाका सबै वडामा सफलतापूर्वक विरोध कार्यक्रम भएको बताए ।
‘हामीले सोचेभन्दा उत्साहजनक उपस्थिति पायौं,’ पार्टी सचिव विश्व बाँस्तोलाले भने,‘यसले हामीलाई उर्जा मिलेको छ ।’ तनहुँमा यस अघि जिल्ला तथा क्षेत्रीयस्तरमा विरोध सभा भएका थिए ।
यसपालीको विरोध सभामा केन्द्रीय सदस्य शंकर भण्डारीले व्यास १, केन्द्रीय सदस्य गोविन्द भट्टराईले व्यास ११, अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्लागण्डकीका विभिन्न वडाहरु, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले व्यास ६ तथा सभापति बैकुण्ठ न्यौपानेले भानु १ मा सम्बोधन गरेका थिए ।

यसैगरी व्यास १० मा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, व्यास ८ मा सचिव विश्व बाँस्तोलालगायतले सम्बोधन गरेका थिए । समग्रमा सबै वडामा कार्यक्रम सफल भएको भन्दै सचिव बाँस्तोलाले पार्टीका तर्फबाट नागरिकलाई धन्यवाद प्रकट गरिएको बताए ।