कांग्रेस र नेकपा कार्यकर्ताबीच कार्यालयमै झडप, ९ राउण्ड गोली फायर

  • ख-
  • ख+

काठमाडौंः कांग्रेस र नेकपाका कार्यकर्ताबीच बिहानदेखि पटकपटक झडप भएपछि रुकुमकोटको आठबिसकोट को राडी बजारमा प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।

आठबीसकोट नगरपालिका(९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ । झडपमा एक वडाध्यक्ष पनि घाइते भएको बुझिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए । सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि उतिबेला उक्त विवाद समाधान गरिएको डिएसपी श्रेष्ठले बताए । नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि सोमबार नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


मंगलबार दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको थियो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ । तर प्रहरीले पछिल्लो समय अवस्था नियन्त्रणमा आएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी