मुख्यमन्त्रीका लागि मुख रसाएर बसेको छैनः हरिबहादुर चुमान

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले आफूमाथि विभिन्न लान्छना लागे पनि पार्टी एकता र संघीयता जोगाउन निरन्तर लागि परेको बताएका छन् ।


बन्दीपुर गाउँपालिकाको आठौं गाउँ सभाको उद्घाटन गर्दै उनले केन्द्रमा देखिएको पार्टीको विभाजनको असर प्रदेश संसदमा देखिन नदिन प्रयास गर्दा आफूमाथि पदलोलुपको आरोप समेत लागेको भन्दै त्यसलाई पनि सहेको बताए ।


‘पार्टीभित्र अल्पमत बहुमतमा ठूला नेता पनि पर्छन् तर आन्तरिक किचलो आन्तरिक रुपमै मिलाउनुपर्छ,’ उनले भने,‘संसद विघटन नहुनुपर्ने भए पनि त्यो रोग प्रदेशमा नसरोस् भनेर लागिरहेको छु ।’


संसद विघटन भएजस्तै प्रदेशमा पनि विभाजन आउने हो भने प्रदेश सभा विघटन हुने र संघीयता तथा अरु उपलब्धी नै धरापमा पर्ने खतरा देखेकाले आफू त्यसलाई रोक्न लागिपरेको चुमानले जिकिर गरे । तर कतिपयले मन्त्री जोगाउन लागेको भनेर आरोप लगाएको पनि उनले गुनासो गरे ।


‘ईतिहास र योगदानले म यो ठाउँमा छु । मन्त्रीकै लागि मरिमेट्ने मान्छे म हो र ?,’ उनले भने,‘संघको रोगले प्रदेश सभा विघटन हुन जाने हो । यसो भए संघीयता सिद्धिन्छ र अहिलेसम्मका सबै उपलब्धी धरापमा पर्छन् । त्यसकारण प्रदेशमा यो रोग नसरोस् भनेर म लागेको हुँ ।’
संसद पुनस्र्थापना भए पार्टीका विवाद सच्याउने अवसर आउने भन्दै फेरि पार्टीलाई एकै ठाउँमा ल्याउन सकिने पनि उनले बताए ।


मुख्यमन्त्री तपसिलका कुरा
चुमानले मिडियामा पाटी विभाजन भएमा आफूलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा चित्रित गरिएको भन्दै आफू त्यसका लागि मुख रसाएर नबसेको बताए । ‘यो तपसिलको कुरा हो,’ उनले भने,‘मुख्य चुनौती संघीयता र गणतन्त्र अनि उपलब्धी जोगाउनु हो । फुटको अनुभव धेरै भएकाले म त्यो अवस्था आउन नदिन लागिरहेको छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी