
बन्दीपुर: नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बुल्दी पुल उद्घाटन प्रकरणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कार्यकर्ताको गिरफ्तारी तथा धरपकडको घटनाको विरोध गर्दै खेद प्रस्ताव पारित गरेको छ । पार्टीले यसलाई राज्यको ज्यादती, अत्याचार र दमन भन्दै खेद प्रकट गरेको छ ।
मंगलबार पार्टी सभापति कर्णबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले घटनाको विरोधमा २९ गते मंसीरका लागि तय विरोध सभामा बन्दीपुरबाट बाक्लो सहभागीता जनाउने निर्णय गरेको सचिव बैस गुरुङले जानकारी दिए ।
पार्टीका तर्फबाट तोकिएका संयोजक अशोककुमार श्रेष्ठ, महासमिति सदस्य रामचन्द्र अधिकारी, कोषाध्यक्ष रेशम गुरुङ तथा पार्टीका प्रदेश १ (ख) संयोजक राजेन्द्र पियाको उपस्थितीमा बैठकले आन्दोलन कार्यक्रम सफल पार्न आवश्यक तयारीको पनि निर्णय गरेको छ ।