संसद्‌मा उठाएका विषयको सुनुवाइ नभएको विपक्षी सांसदको गुनासो 

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराएका थिए । उक्त अवसरमा सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्रीले संसद् उठाउनुभएको राष्ट्रियताको विषय, सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन र मानव अधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत विषयमा पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे ।

सांसद लक्ष्मीप्रसाद पोखरेलले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल तीव्र बनाउनुपर्नेमा जोड दिँदै गत जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग गरे ।

सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नहुने गरेको भनी दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने धारणा राखे । उनले लोकतन्त्र र संवैधानिक व्यवस्था कमजोर हुने अवस्थामा रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । सांसद ऐन महरले संसद्को गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएको बताए । सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै बढ्दो इन्धन मूल्यले आमउपभोक्तामाथि थप आर्थिक भार परेको बताए । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्