आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिका –६ घलडाँडाका किसानलाई जिल्ला कृषि विकास कार्यालय तनहुँले ९० प्रतिशत अनुदानमा कृषि तथा सिँचाइ सामग्री वितरण गरेको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि उद्यम विकास, रैथाने बाली प्रवर्धन, जलवायुमैत्री प्रविधि प्रवर्धन तथा निर्यातजन्य बाली प्रवर्धन कार्यक्रममार्फत घलडाँडा कृषक समूहलाई सामग्री उपलब्ध गराइएको हो ।
कार्यक्रमअन्तर्गत समूहलाई सिँचाइका लागि पाँच हजार लिटर क्षमताको एक थान हिल ट्याङ्क उपलब्ध गराइएको छ । साथै समूहमा आबद्ध २२ जना कृषकलाई ५०० लिटर क्षमताका हिलट्याङ्क, २० एमएम सिँचाइ पाइप, विभिन्न रैथाने बालीका बिउबिजन तथा एग्रिकल्चर स्प्रेयरलगायत सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले मंगलबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गरेका थिए।
कृषि उत्पादन वृद्धि र आधुनिक खेती प्रणालीको विस्तार गर्ने उद्देश्यले ९० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराइएको कार्यालय प्रमुख अधिकारीले बताए । घलडाँडा कृषक समूहका अध्यक्ष अस्मित गुरुङले अनुदानमा प्राप्त सिँचाइ तथा कृषि सामग्रीले खेती गर्न सहज हुनुका साथै उत्पादन बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले सिँचाइ सुविधाको अभाव झेल्दैआएका कृषकलाई यस्ता कार्यक्रमले व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने बताए ।





