काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवार बनेका चार सांसद पराजित भएका छन् । पार्टीका महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जिल्ला र प्रदेश समितिमा नजानु भन्ने पार्टी नीति रहेको लिखित अनुरोधलाई अस्वीकार गरी प्रदेश सभापतिको उम्मेदवार बनेका चार सांसद पराजित बनेका हुन् ।
रास्वपा सुदूरपश्चिम प्रदेशको सभापति मा सांसद जनकसिंह धामी उम्मेदवार बनेका थिए । कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका धामी सोमबार सम्पन्न रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापति पदमा पराजित भएका हुन् । यसअघि रास्वपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मञ्जु भुसाल पराजित भइसकेका छन् । लामिछाने नुवाकोट-२ र गौतम नवलपुर-१ बाट र भुसाल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य छन् ।
रास्वपा सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका हुन् । रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्थ समिति सभापति रहेका विष्टले अधिवेशनमा खसेको मतमध्ये ३ सय ५८ मत प्राप्त गरेका थिए । पार्टी नीति अस्वीकार गरी प्रदेश सभापतिमा उम्मेदवारी दिएका धामीले भने १ सय ५४ मत मात्रै पाएका थिए । विष्ट २०४ मतको फराकिलो अन्तरले सभापति निर्वाचित भए ।
पार्टीको प्रदेश समिति सभापतिमा पराजित भएपछि सांसद धामीले सामाजिक संजालमा आफ्नो उम्मेदवारीलाई अन्यथा नलिन आग्रह गरेका छन् । ‘पार्टीको आन्तरिक निर्वाचनमा विचार समूहहरू बन्छन् । आन्तरिक लोकतान्त्रिक पद्धतिबाट निर्वाचन पनि हुन्छ । यो स्वाभाविक कुरा हो । यसलाई अन्यथा नलिई दिन हुन सबैमा हार्दिक अनुरोध गर्दछु । हामी पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासलाई मजबुत बनाउन चाहन्छौँ,’ धामीले लेखेका छन्, ‘म यस परिणामबाट बिचलित भएको पनि छैन । पार्टीमा विचारहरु मर्न दिनु हुँदैन ।’
सभापति निर्वाचित विष्टले भने सांसदले पार्टी राजनीतिमा चासो राख्न नहुने र आफ्नो काममा ध्यान दिनुपर्ने बताएका थिए । उनले जनताले सांसदका रूपमा निर्वाचित गरेर पठाएकाहरूले सोही जिम्मेवारीमा काम गर्नुपर्ने बताएका थिए । प्रदेश अधिवेशन हलमा उनले भनेका थिए, ‘(अधिवेशन प्रतिनिधि) तपाईंले के गर्न पठाउनुभएको हो, पार्टीभित्र राजनीति गर्न पठाउनुभएको हो कि देश विकास गर्न पठाउनुभएको हो ? यदि माननीयहरूलाई राजनीति गर्नुछ भने माननीय पद त्यागेर प्रकाश विष्टसँग लड्न आउ । माननीयको कार्यकाल पूरा गर्न सकेका छैनौं तर हामीलाई अर्को पद चाहिइसक्यो ?’
महामन्त्री बुर्लाकोटीले ‘संघीय सांसदज्यूहरूको पार्टी जिम्मेवारीसम्बन्धी’ भनी सबैका नाममा पार्टी नीति सार्वजनिक गरेका थिए । जिल्ला र प्रदेश अधिवेशन अगाडि जेठ २१ मा गरेको उक्त पत्रमा संसदीय जिम्मेवारीमा रहेकाहरूलाई पार्टीका जिम्मामा नजान भनिएको थियो । साभारः कान्तिपुर





