भानु: भानु नगरपालिका–८ तल्लोटारका स्थायी बासिन्दा तथा हाल भरतपुर, चितवन बस्ने निर्जला आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थीहरू ज्ञानबहादुर बराकोटी र कृष्णप्रसाद वस्ताकोटीले विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। दुवै दाताले संयुक्त रूपमा कापी, पेन्सिल, कटर र इरेजर लगायतका शैक्षिक सामग्री उपलब्ध गराएका हुन्। उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घिमिरे तथा पूर्व शिक्षक अभिभावक सङ्घ अध्यक्ष इराज गुरुङको उपस्थितिमा विद्यालयमा अध्ययनरत करिब ७० जना विद्यार्थीलाई वितरण गरिएको थियो ।
विद्यालयमा आयोजित कार्यक्रममा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकता सम्बोधन गर्ने, अध्ययनप्रति उत्साह जगाउने तथा सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यले सामग्री वितरण गरिएको जनाइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घिमिरेले विद्यालयप्रति देखाएको सहयोग र सद्भावका लागि दाता ज्ञानबहादुर बराकोटी तथा कृष्णप्रसाद वस्ताकोटीप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। विद्यालयका भूतपूर्व विद्यार्थीहरूले आफ्नै विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि सहयोग गर्नु उदाहरणीय कार्य भएको भन्दै स्थानीयवासी तथा विद्यालय परिवारले समेत दाताहरूको प्रशंसा गरेका छन्।कार्यक्रमको सञ्चालन निमित्त प्रधानाध्यापक प्रेम मिश्रले गरेका थिए भने कार्यक्रम सम्बन्धी जानकारी शिक्षक चित्रबहादुर नेपालीले दिएका थिए ।





