मानव-वन्यजन्तु दुन्द न्यूनीकरण सम्बन्धी संचारकर्मीसंग अन्तरक्रिया

दमौली न्युज
  • ख-
  • ख+

दमौली : मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सञ्चारकर्मी संग अन्तरक्रिया तथा गोष्ठी गरिएको छ। विहिवार तनहुँको दमौलीमा डिभिजन वन कार्यालय तनहुँद्वारा आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम राख्न सचेतना, समन्वय र जिम्मेवार सञ्चार आवश्यक रहेको बताए।

उनले मानव–वन्यजन्तु द्वन्द्वका घटनाबारे सत्य, सन्तुलित र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै अफवाह र भ्रामक सूचनाले समस्या थप जटिल बनेको पनि जिकिर गरे। रानाभाटले समुदायस्तरमा संरक्षणसम्बन्धी सन्देश पुर्‍याउन तथा वन्यजन्तुसँग सुरक्षित व्यवहारका उपायबारे जनचेतना फैलाउन सञ्चारकर्मीको योगदान महत्वपूर्ण हुने उल्लेख गरे।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका सभापति डिपी अधिकारीले मानव–वन्यजन्तु द्वन्द्वका विषयमा सञ्चारमाध्यमले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले प्रभावित समुदायको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउनुका साथै संरक्षण र सहअस्तित्वका सन्देशलाई प्रभावकारी रूपमा प्रवाह गर्न पत्रकारहरू अग्रसर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्वका चुनौती, प्रभावित समुदायका समस्या, संरक्षणका प्रयास तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी