दमौली: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते हुने भएको छ। अधिवेशनको मिति नजिकिँदै जाँदा जिल्ला नेतृत्व चयनलाई लिएर पार्टीभित्र बहस, छलफल र राजनीतिक गतिविधि तीव्र बनेकाे छ। जिल्ला सभापति लगायत नयाँ नेतृत्व चयन गर्ने अधिवेशनलाई रास्वपाको तनहुँ संगठनको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको पाईन्छ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता शनिबार १० बजेसम्म रहने जानकारी प्राप्त भएको छ। त्यसपछि शनिबारनै दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ। नेतृत्वका आकांक्षीहरू यतिबेला प्रतिनिधि तथा भेटघाट, छलफल र समर्थन जुटाउने अभियानमा सक्रिय देखिएका छन्।
जिल्ला सभापति पदका लागि वर्तमान सभापति विश्व बास्तोला र डा. शेषरमण न्यौपानेबीच प्रतिस्पर्धा हुने चर्चा पार्टी वृत्तमा व्यापक रूपमा चलिरहेको छ। दुवै नेताले आफू पक्षीय कार्यकर्ता तथा प्रतिनिधिहरूसँग निरन्तर संवाद गरिरहेका छन्। अधिवेशनअघि नै सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयासहरू भए पनि हालसम्म कुनै ठोस सहमति हुन नसकेको र चुनावी प्रतिस्पर्धाको सम्भावना बलियो बन्दै गएको बताइन्छ।
पार्टीभित्रका एकथरी नेता तथा कार्यकर्ताले वर्तमान सभापति विश्व बास्तोलाको नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। उनीहरूले बास्तोलाले छोटो अवधिमै जिल्लामा पार्टी संगठन विस्तार, युवा परिचालन तथा जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। स्थानीय तहदेखि गाउँ–टोलसम्म पार्टीको सञ्जाल विस्तार गर्न, नयाँ सदस्यहरूलाई पार्टीमा आकर्षित गर्न तथा विभिन्न सामाजिक र जनसरोकारका विषयमा पार्टीको उपस्थिति बलियो बनाउन बास्तोलाले सक्रिय भूमिका निर्वाह गरेको कार्यकर्ताहरूको भनाइ छ।
कार्यकर्ताहरूका अनुसार बास्तोला जनतासँग सहज रूपमा घुलमिल हुन सक्ने, जनताका गुनासा र समस्याहरू सुन्ने तथा ती विषय सम्बन्धित निकायसम्म पुर्याउन सक्रिय रूपमा पहल गर्ने नेताका रूपमा परिचित बनेका छन्। पछिल्लो समय जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रम, सामाजिक अभियान तथा जनसरोकारका मुद्दामा उनको सक्रिय सहभागिताले कार्यकर्तामाझ विश्वास बढाएको बताइन्छ। यही कारणले पार्टीभित्रका धेरै नेता तथा कार्यकर्ताले उनलाई पुनः एक कार्यकालका लागि सभापति बनाउनु उपयुक्त हुने धारणा राख्दै आएका छन्।
अर्कोतर्फ डा. शेषरमण न्यौपाने पनि पार्टीभित्र बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छन्। न्यौपाने सभापति भएमा पार्टीलाई अझै सशक्त बनाउने दाबी कार्यकर्ताहरूको रहेको छ ।
रास्वपाले राष्ट्रिय राजनीतिमा स्थापित गरेको वैकल्पिक राजनीतिक अभ्यासलाई जिल्लास्तरमा थप प्रभावकारी बनाउने, संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्ने, सुशासन र जवाफदेहिताको एजेन्डालाई जनतामाझ पुर्याउने तथा आगामी निर्वाचनका लागि संगठनात्मक आधार तयार गर्ने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको पार्टी स्रोतले जनाएको छ।
अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधिहरू सहभागी हुनेछन्। नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा, संगठन विस्तारको रणनीति, पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढीकरण लगायत विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ। अधिवेशन नजिकिँदै जाँदा जिल्लाको राजनीतिक वृत्तमा रास्वपाको नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ। सहमतिबाट नेतृत्व चयन हुने वा निर्वाचनमार्फत नयाँ नेतृत्व टुंगो लाग्ने भन्ने विषयले अन्तिम समयसम्म उत्सुकता बढाइरहेको छ। यद्यपि पार्टीभित्र देखिएको सक्रियता र कार्यकर्ताको उत्साहले प्रथम जिल्ला अधिवेशनलाई रास्वपा तनहुँको संगठनात्मक इतिहासमा महत्वपूर्ण मोडका रूपमा लिइएको छ।
