काठमाडौँ : एमसिए–नेपालले मिलेनियमच्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब सवा दुई करोड अमेरिकी डलर दुई वटा सम्झौतामा हस्ताक्षर गरेको छ ।
एमसिए–नेपालले आजएमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजनाका कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा – कुमार संयुक्त उपक्रमसँग सम्झौता गरेको छ ।
यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट – मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ ।
यीआयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ भने नारायणघाट – मुग्लिङ सडक खण्डको आवधिक मर्मत गरिनेछ । सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि ती नयाँ प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको हो ।
सोमबार एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसहित अर्थ मन्त्रालयका अधिकारीको उपस्थितीमा एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट तथाशर्मा – कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धानखोलादेखि लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा राजदूत थम्प्सनले कम्प्याक्टले नेपालमाअत्यावश्यक सडक पूर्वाधार उपलब्ध गराउँदै गर्दा यी दुई सम्झौताले सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वाेत्कृष्टतालाई चिनाउने बताए ।
अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्ग प्रशस्त भएको र एमसिए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको विश्वास व्यक्त गरे ।












