एमाले महाधिवेशनः केन्द्रीय सदस्यमा तनहुँको उम्मेदवारी लर्को, को को जित्लान् ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेकपा एमालेको एघारौं महाधिवेशनअन्र्तगत नयाँ नेतृत्व चयनका लागि मतदान अहिले केहीबेरमा शुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निरन्तरता अनि पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा उक्लने आकांक्षाकाबीच विभाजित प्रतिनिधिहरुले यसपाली इतिहास जोगाउने वा बदल्ने निर्णय दिनेछन् ।


दुई खेमा प्रष्ट विभाजन भएर उम्मेदवार होडमा दौडँदा तनहुँबाट ठूलो संख्याका नेताहरु केन्द्रीय समितिमा अटाउने दौडमा छन् । पदाधिकारीमा कुनै खेमामा टिकट नपाएका नेताहरु अधिकांशले केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
विगतमा मन्त्री भैसकेका कुनै समयका प्रभावशाली नेता किरङ गुरुङ यसपाली खुलातर्फको केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् । यसैगरी, पूर्व जिल्ला अध्यक्ष केदार सिग्देल भुगोलअन्र्तगत गण्डकीबाट केन्द्रीय सदस्य दौडमा छन् ।

उता, पूर्व मन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदा पूर्व मन्त्री भगवती न्यौपानेले महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।


कांग्रेसबाट एमाले प्रवेश गरेका पूर्णबहादुर गुरुङले जनजातितर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदै प्रचारप्रसार तीव्र पारेका छन् ।


उता, पूर्व जिल्ला अध्यक्ष केदार सिग्देल लडेको भूगोलतर्फको खुला केन्द्रीय सदस्यमा नेता विष्णुभक्त सिग्देल समेत चुनावी दौडमा छन् । उनीहरुमध्ये जिल्लामा केदार खगराज र विष्णुभक्त पृथ्वीशुब्बा प्यानल निकट मानिन्छन् ।


पूर्व जिल्ला अध्यक्ष प्रतापलाल श्रेष्ठले जनजाति खुलातर्फ उम्मेदवारी दिएका छन् ।


उम्मेदवारी दिनेहरुमा अधिकांश अध्यक्ष केपी शर्मा ओली निकट मानिए पनि केही भने ईश्वर पोखरेल खेमाबाट उम्मेदवारी दिएका छन् । पूर्णबहादुर गुरुङ र विष्णुभक्त सिग्देल अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलको प्यानलमा अटाएका छन् । बाँकी मध्ये केही अध्यक्ष उम्मेदवार केपी ओली प्यानलमा अटाएका छन् ।

एकीकृत समाजवादीबाट हालै एमाले प्रवेश गरेका कृष्णकुमार श्रेष्ठ कुनै प्यानलमा नअटाए पनि चुनाव लडेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्