दमौलीः तनहुँको जिल्ला अनुगमन समितिले दर्ता नै नभैकन सञ्चालनमा आएका पाँच उद्योगलाई बन्द गराउने निर्णय गरेको छ । दर्ता नभैकन सञ्चालनमा आएका क्रसरहरुलाई कारबाही गर्नका लागि यस अघि नै प्रक्रिया अघि बढे पनि तत्कालिन प्रमुख जिल्ला अधिकारीको सरुवा भए पछि प्रक्रिया नै रोकिएको थियो ।
 जिल्ला समन्वय समितिका समन्वय अधिकारी प्रेमराज गिरीका अनुसार सोमबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शुक्लागण्डकी ७ को ए सिक्स एग्रिगेट कम्पनी,  २ को एसएनएल एग्रिगेट कम्पनी, ३ को मेलमिलाप ढुंगा बालुवा गिट्टी उद्योग तथा ५ को प्रोफर कन्स्ट्रक्सन एण्ड क्रसर इन्डष्ट्रिजका अलावा म्याग्दे ३ को अकला रुद्रदेवी गिट्टी बालुवा उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नै नभईकन सञ्चालनमा आएको भन्दै सञ्चालनमा रोक लगाउनका लागि शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा अनुरोध गर्ने निर्णय गरेको छ । 
 बैठकले यस अघि नै मापदण्ड पुरा नगरेको भन्दै समितिले रोक लगाउन निर्देशन दिएको बन्दीपुर गाउँपालिकामा सञ्चालित नमूना ग्रिड क्रसर उद्योग बन्द गर्न असोज १४ गते निर्देशन दिएकामा गाउँपालिकाले बन्द गरेको पत्र पठाएकाले कार्यान्वयनका लागि सघाउन भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँलाई अनुरोध गरेको जिल्ला समन्वय अधिकारी गिरीले जानकारी दिए ।  
                    




				                               






							
							
							
    
    
    
    
