राष्ट्रपतिको निर्वाचन क्षेत्र तनहुँ– १ मा गोविन्द भट्टराई कांग्रेस उम्मेदवार

दमौली न्युज
  • ख-
  • ख+

दमौली, चैत १२ : राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जितेको तनहुँ क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई चुनाव लड्ने भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका छन् । हिजो शनिबार साँझ बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्राईलाई नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउन सहमति जुटेको थियो।

नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका महामन्त्री भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् । उनी २०४८ सालदेखि नेपाली कांग्रेसको लगातार महाधिवेशन प्रतिनिधि हुदै आएका छन् । त्यसका साथै उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन्।

कांग्रेस सभापति देउवाले चुनाव जितेर आउँनुभन्दै भट्टराईलाई शुभकामना समेत दिएका छन् । त्यसका साथै राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो निर्वाचन क्षेत्रमा भट्टराईलाई उम्मेदबार बनाउन सिफारिस गरेका छन्।

स्रोतका अनुसार भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनका साँझ उम्मेदबार हुने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा बैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । तनहुँ– मा रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनले राजिनामा दिएकाले त्यहा उपचुनाव हुदैछ । त्यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उपचुनाव हुन लागेको हो । त्यस्तै उपराष्ट्रपति निर्वाचित राम सहाय यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि बैशाख १० गते नै उपचुनाव हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी