ब्याटलग्राउण्ड बन्दीपुरः कांग्रेसको साख फर्केने कि माओवादी आधिपत्य स्थापित हुने द्वन्द्व ?

  • ख-
  • ख+

बन्दीपुरः चुनावी प्रचारप्रसार सकिनु केही घण्टाअघि बन्दीपुर र आसपासमा स्थानीय तह चुनावका आकांक्षीहरु सक्दो मतदाता आकर्षित गर्ने दौडमा छन् । मुख्यरुपमा कांग्रेस र माओवादी केन्द्रबीच प्रतिष्पर्धा हुने ठानिएको बन्दीपुर कुनै समय कांग्रेसको गढ मानिएको ठाउँ हो ।

तर, २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएसँगै बन्दीपुरमा माओवादी केन्द्र शासनसत्ताको केन्द्रमा छ ।

यसपाली कांग्रेसले तुलनात्मक रुपमा कम विवादित ध्रुवलाल प्रधानलाई उम्मेदवारका रुपमा अघि बढाएको छ । लामो समयको सामाजिक अभियानका क्रममा रेडक्रस सोसाइटीको सभापति हुँदै कांग्रेसकै उपसभापतिसम्मको तहमा रहेका प्रधान नेवार समुदायमाझ लोकप्रिय मानिन्छन् ।

विगतमा स्थानीयस्तरमा कम लोकप्रिय र नेवार समुदायमा पकड नभएका उम्मेदवारसँगै आन्तरिक द्वन्द्वले चुनाव हारेको चर्चाकाबीच यसपाली कांग्रेसले पुराना नेता प्रधानलाई टिकट दिलाएको छ । पहिल्यैदेखि पार्टी तथा सामाजिक संगठनमा सक्रिय प्रधान आफूसँगै पार्टीलाई जिताउन दिलोज्यानले लागिपरेका छन् । विगतको तुलनामा कम द्वन्द्व र स्वतन्त्र उम्मेदवारी दिएका मानकाजी श्रेष्ठको साथले प्रधान केही बढी हौसिएका छन् ।

पूर्णसिंको लोकप्रियताको बल
निवर्तमान अध्यक्ष एवं पुनः माओवादी उम्मेदवारका रुपमा आएका पूर्णसिं थापा संगठनसँगै आफ्नो व्यक्तिगत लोकप्रियताको बलमा चुनाव जितेका व्यक्ति हुन् । र, यसपाली पनि उनी पार्टी संगठनसँगै व्यक्तिगत छविका साथै सामाजिक र व्यवसायिक सम्बन्धको आडमा चुनाव जितेर गाउँपालिका अध्यक्षका रुपमा दोश्रो इनिंग थाल्ने योजनामा छन् ।

अध्यक्ष हुँदा विस्तार गरेको संगठन र वितरित बजेटका कारण थापा दोश्रो कार्यकालमा पनि विजयी हुने अपेक्षामा छन् । र, उनले सकेको शक्ति चुनावी जितका लागि लगाएका पनि छन् ।


लामो समयपछि राजनीतिक तथा स्थानीय सरकारको शक्तिका रुपमा पुनरागमन गर्ने प्रधानको चाहनामा पहिल्यै शक्तिका रुपमा रहेका पूर्णसिं थापा बलियो चुनौती बन्नेछन् । यो चुनावलाई कांग्रेसको शक्ति पुनरागमन र माओवादीको आधिपत्यता परीक्षणको लडाईंका रुपमा हेरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी