
बन्दीपुरः तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटकहरू लाई आकर्षित गर्न खाना महोत्सव गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।
चैत ३० गतेदेखि वैशाख २ गतेसम्म सडक खाना महोत्सव हुने तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईका सभापति घनश्याम उपाध्यायले बताए ।
पुरानो बर्षको बिदाइ र नयाँ बर्षको स्वागत गर्न तथा मिठा मिठा परिकारको स्वाद चखाउन महोत्सव गर्न लागिएको हो उपाध्यायले भने , यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । महोत्सवमा दि इन्ट्रो ब्यान्डको कन्सर्ट रहने क्षेत्रीय होटल संघ बन्दीपुरका सभापति संगिता प्रधानले बताइन् ।
कन्सर्टसंगै चुड्का, कौरा, लाखे नाच लगायतको प्रस्तुति रहने प्रधानले बताइन् । नयाँ वर्षको रमाइलो लिन पोखरा लगायतका अन्य ठाउँमा जानुपर्ने अवस्थालाई बन्दीपुरमै कार्यक्रम गरेर बन्दिपुरमै जाऔं जाऔं लाग्ने वातावरण हुने भए पछि बन्दीपुरका होटल व्यवसायी खुशी भएको एकाईका पुर्व सभापति विपिन प्रधानले बताए ।