विप्लवको बन्दीपुर बैठकमा के भैरहेछ ?

  • ख-
  • ख+

दमौलीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको तनहुँको बन्दीपुरमा जारी ११ औं पूर्ण बैठक अझै सकिएको छैन ।

गत शुक्रबारबाट जारी खुला राजनीतिमा आएयताको पहिलो बैठकमा पार्टीको भावी राजनीतिक कार्यदिशा तथा सांगठनिक अवस्थालगायतका विषयमा छलफल भैरहेको छ ।

बन्दीपुरको एक रिसोर्टमा जारी बैठक आज सक्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बैठक सकिएको सूचना सार्वजनिक भैसकेको छैन । नेताहरु सञ्चारसम्पर्कबाहिर रहेर बैठकमा सहभागी भएकाले आधिकारिक सूचना सार्वजनिक भएको छैन ।

तर पनि आज राती अबेरसम्म भए पनि बैठक सकेर पोखरामा बुधबारबाट शुरु हुने अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने योजना नेताहरुको छ ।
बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्दबाट प्रस्तुत राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो । स्थायी कमिटी सदस्य खड्गबहादुर विक प्रकाण्डले समेत राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरे पनि सचिवालयको संयोजनमा एउटै प्रस्ताव तयार भएको र त्यसमा नेताहरुले धारणा राखेको बताइन्छ ।

पार्टीले मंगलबार पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्ने भनिए पनि अब पोखरामै यसबारे विवरण सार्वजनिक हुने निकट पत्रकार ओम हमालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्