लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, एकल सरकार गठनको बाटोमा

  • ख-
  • ख+

बुटवल ः आफ्नो पदबाट राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको राजिनामा स्विकृत भएको छ ।

मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृतिलगत्तै नेकपा (एमाले) एकल सरकार गठनको दावीसहित अघि बढ्ने प्रदेशसभामा पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल भएकाले अब आफ्नै नेतृत्वमा एकल सरकार गठनका लागि अगाडि बढ्न मुख्यमन्त्रीले राजीनामा दिएको प्रमुख सचेतक ढकालले स्पष्ट पारे ।

तीन वर्षअघि नेकपा (माओवादी केन्द्र) सम्मिलित एमालेका पोखरेल नेतृृत्वको सरकारविरुद्ध केही दिनअघि माओवादी केन्द्र र नेपाली कांग्रेससहितले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्