धारापानी सवारी दुर्घटनाः जोखिम बढेपछि १० दिन बाटो बन्द गरेर सडक मर्मत गरिने

  • ख-
  • ख+

दमौलीः बन्दै गरेको सडकमा दिनहुँ दुर्घटना भएर जनधनको क्षति हुन थाले पछि ऋषिङ गाउँपालिकाले झापुटार भिर्कोट सडक खण्ड १० दिन बन्द गर्ने भएको छ ।

ठाडो बाटोमा ब्रेक फेल भएर मंगलबार जीप दुर्घटनामा एक तथा बुधबार स्कुटर दुर्घटनामा अर्का दुईको ज्यान गए पछि गाउँपालिकाले सडक मर्मत नसकिंदासम्म सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भौतिक पूर्वाधार कार्यालय तथा सडक डिभिजनका अधिकारीहरुसँग छलफल गरेर काम तत्काल सक्नका लागि समेत अनुरोध गरेका थिए ।


दुर्घटना भैरहेको ऋषिङ १ धारापानीको उकालोमा सडक ढलानको काम भैरहेको छ । एक खण्डमा एक सय २५ मिटर ढलान मध्ये आधा भागको काम सकिएको छ । अर्को भागको ढलान बाँकी हुँदै गर्दा दिनहुँ दुर्घटना भए पछि अब काम १० दिनभित्र सक्ने शर्तमा आजबाट काम रोक्न लगाइएको अध्यक्ष श्रेष्ठले बताए ।


ऋषिङ ४ का वडाध्यक्ष भोजराज रानाभाटले सडकको ढलान हुँदा उचाइ बढेको र ठाडो उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको निष्कर्ष पछि यातायात रोक्न लागिएको बताए । उनले मोटरसाईकल चालकलाई सावधानीपूर्वक मात्र यात्रा गर्न भनिएको भन्दै काम सके पछि मात्र जीप चल्न दिइने बताए ।


निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत २८ लाखमा सडकको एक सय २५ मिटर खण्डको ढलानको काम चलिरहेको छ । निर्माण कार्य गरिरहेको बेलु निर्माण सेवाका सुवर्ण श्रेष्ठले आफूहरुले १० दिनभित्र नै काम सक्ने भन्दै यातायात आगमन नभएमा काम सक्न समेत सहज हुने बताए । ‘समयमै काम सकेर सहज बनाउँछौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी