नौ जनालाई नइ पुरस्कार

  • ख-
  • ख+

काठमाडौँ: नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ ।


नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानको अक्षुण्णता, संरक्षण र संवर्धनका लागि अटल प्रतिबद्ध कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।
मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत प्रा.डा.राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।


नइ प्रकाशनले नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका निम्ति नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ ।
चिकित्सा क्षेत्रमा दीर्घ सेवाका निम्ति सुविख्यात बालविशेषज्ञ डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।


नेपाली कलाका फाँटमा अविछिन्न योगदानका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली चित्रकलाको महिमा र गरिमा बढाए वापत शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसै गरी नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रुपमा क्रियाशील रही विश्व कविता यात्रामार्फत नेपाली भाषासाहित्यको गौरव बढाए बापत वसन्तकुमार चौधरीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निणर्य भएको छ ।
नइ प्रकाशनले नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारमा प्रभावकारी कृत्य गरी देशदेशान्तरमा नेपाली भाषाको ख्याति बढाए बापत म्युजिक नेपालका अध्यक्ष श्री सन्तोष शर्मालाई ‘नइ भाजप पुरस्कार’ समर्पण गर्ने भएको छ ।


काठमाडौँ उपत्यकाबाहिर रहेर पनि नेपाली भाषासाहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत रुपन्देहीका जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको हो ।


नइ प्रकाशनको रजत महोत्सव तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०२ औँ शुभजन्मोत्सवका अवसरमा  शताब्दी पुरुषबाट आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरू समर्पण गरिने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी