अनिश्चितकालका लागि काम नगर्ने भानु कर्मचारीको घोषणा

  • ख-
  • ख+

भन्सार: चोरीको आरोपमा कर्मचारीलाई हिरासतमा राखिएको भन्दै भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालिन रुपमा काम बन्द गरेका छन् ।

फुस्रेटारबाट भन्सारस्थित कार्यालयमा सामान लैजाने क्रममा शुक्रबार एक नगर प्रहरीसहित चारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


जनप्रतिनिधिकै उपस्थितीमा चोरीको झुटो मुचुल्कामा जर्बजस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीलाई नियन्त्रणमा लिइएको भन्दै कर्मचारीले विरोध जनाएका हुन् ।


यस घटनाले आफूहरुलाई काममा असुरक्षित महसुस भएको र सुरक्षित तवरले काम गर्ने वातावरण नभएको भन्दै अनिश्चितकालका लागि काम बन्द गरिएको कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


भानु नगरपालिकाको मुकाम भानु २ फुस्रेटारमा भए पनि नगरपालिकाले त्यस ठाउँमा अपायक परेको भन्दै हाल भानु १ भन्सारको कार्यालयबाट मुख्य प्रशासनिक काम गरिरहेको छ । त्यसका लागि सामान सार्ने क्रममा सबै कार्यालयिक काम फुस्रेटारबाटै हुनुपर्ने मागमा रहेका स्थानीय तथा जनप्रतिनिधिले कर्मचारीले सामान चोरी गरेको भन्दै उजुरी गरे पछि ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले चार कर्मचारीलाई नियन्त्रणमा लिएर मुचुल्का गराएको थियो ।


त्यसयता कर्मचारीले असुरक्षाको वातावरण भएको भन्दै काम बन्दको घोषणा गरेका हुन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुवराज पौडेलले आफूहरुले अह्राएको काम गर्ने क्रममै चोरीको आरोप लागेपछि कर्मचारीले असुरक्षा महसुस् गरेको दाबी गरे । ‘स्टोरकिपर, कर्मचारी र प्रहरीसहित गएको टोली चोरी गर्न गएको थिएन,’ उनले भने,‘हामीले यस घटनामा प्रहरीलाई पत्राचार गरेका छौं ।’


भानु नगरपालिकाको केन्द्र फुस्रेटार भए पनि कार्यालयका धेरै काम भन्सारमा हुन थाले पछि फुस्रेटारवासीले विरोध गर्दै आएका छन् । कार्यालयका सामान सार्न थाले पछि फुस्रेटारको कार्यालय पूर्ण स्थानान्तरण हुन सक्ने आशंकामा स्थानीय र जनप्रतिनिधिले स्थानान्तरण गरे पछि विवाद श्रृजना भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्