‘बाबुलाई बचाउन सकिएन,छोराको भविष्य बनाउँछौं’

  • ख-
  • ख+

दमौलीः व्यास ७ बोटेटारनिवासी अशोक गुरुङलाई ब्लड क्यान्सर भयो । उनको उपचारका लागि आर्थिक अभाव भए पछि परिवारले ईष्टमित्र अनि आफन्तसँग गुहार गरे । अशोकलाई बचाउन सकिन्छ कि भनेर छिमेकी र आफन्तले पनि मन खोलेर सहयोग थाले । देश र विदेशमा पनि सहयोग अभियान शुरु भयो ।


त्यसक्रममा बोटेटार घर भै दुबई, कुवेत, कोरिया, पोर्चुगल तथा बोटेटार नै बस्दै आएका आफन्त र छिमेकीले एक लाख ७१ हजार रुपैयाँ सहयोग गरे । यसैगरी, हाल हङकङ बस्दै आएका भोजकुमार गुरुङको सक्रियतामा त्यहाँ कार्यरत नेपालीले पनि अशोकलाई बचाउन सहयोग गरे । त्यहाँ एक लाख १४ हजार दुई सय ४६ रुपैयाँ संकलन भयो ।


अभियानका क्रममा खाडी राष्ट्र र स्थानीयस्तरमा संकलित रकम ।


तर, दुःखको कुरा जसलाई बचाउनका लागि सहयोग संकलन गरिएको थियो, उनी नै रहेनन् । बचाउन खोजेको मानिस नै नबाँचेपछि सहयोगीले संकलित सहयोग रकम परिवारका जीवित सदस्यका लागि सहयोग गरेका छन् ।


अभियानका क्रममा हङकङ बस्दै आएका नेपालीबाट भोजकुमार गुरुङको सक्रियतामा संकलित रकम ।


अशोकका छोरा ६ वर्षका ब्राइन गुरुङको नाममा १० वर्षका लागि फिक्स्ड डिपोजिट गरिएको छ । सहयोग अभियानमा सक्रिय सदस्यहरु मिनराज गुरुङ, गंगा गुरुङ तथा प्रेम गुरुङले संकलित सहयोगबाट छोराको पठनपाठनमा सहयोग हुने भन्दै रकम लक्ष्मी बैंक लिमिटेड दमौली शाखामा खाता खोलेर १० वर्षका लागि बचत खातामा जम्मा गरिदिएको जानकारी दिए ।

‘अशोकलाई बचाउन नसकिए पनि छोराको भविष्य उज्यालो हुने आशा छ,’, मीनराजले भने ।
खातामा दुई लाख ८५ हजार तीन सय ५२ रुपैयाँ जम्मा गरिएको छ ।सो रकमको ब्याज उनको पठनपाठनमा परिवारले खर्च गर्न सक्नेछन् ।

सहयोग अभियानका सदस्यले अशोकको घरमा पुगेर गुरुङ परम्पराअनुसार दियो बालेर श्रद्धान्जली समेत अर्पण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्